पर्सा राष्ट्रिय निकुञ्जभित्र यौनजन्य क्रियाकलापमा संलग्न ७ जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पथलैया–अम्लेखगञ्ज सडक खण्डमा पर्ने पर्सा निकुञ्जको वन क्षेत्रभित्र घाँस दाउरा गर्ने नाममा महिलाहरूले बाटोमा हिँड्ने बटुवा तथा सवारी चालकहरूलाई बोलाएरै यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीपबहादुर क्षेत्रीले २० देखि ३५ वर्ष उमेर समूहका वीरगञ्जमा डेरा लिई बस्ने महिलाहरू रहेको बताएका छन् । प्रहरीले नियन्त्रणमा लिएका महिलाहरूलाई ५ दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको क्षेत्रीले बताए । ‘यसअघि प्रहरीले पटक पटक यस्तो गतिविधि गर्ने महिलाहरूलाई नियन्त्रण लिएर सम्झाई बुझाई गरेर छोड्दा घटनामा नियन्त्रणमा नआएकोले यसपटक नियन्त्रणमा लिएर म्याद थप गरेका हौँ,’ क्षेत्रीले भने ।
पथलैया–अम्लेखगञ्ज र पथलैया–निजगढ सडकखण्डको जङ्गल क्षेत्रमा बसेर यौनजन्य गतिविधि गरेको आरोपमा प्रहरीले यसअघि पनि पटक पटक महिलाहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाई छोड्ने गरेको थियो । ती महिलाहरू सो सडक खण्डमा घाँस दाउरा गर्ने नाममा बाटो छेउमा बसेर सवारी चालकहरूलाई बोलाउने र थोरै रकम लिएर यौनजन्य क्रियाकलाप गर्ने गरेको प्रहरीले जनाएको छ ।
सार्वजनिक स्थल तथा जङ्गल क्षेत्रमा सवारी साधन रोकेर यौनजन्य गतिविधि गरेका कारण सडक दुर्घटना बढेको तथा यौनजन्य रोगको सङ्क्रमण समेत बढ्ने भन्दै नियन्त्रणमा लिएका महिलाहरूको एचआईभी परीक्षण गर्ने प्रहरीले जनाएको छ ।
यौनजन्य गतिविधिमा सङ्लन आरोपमा ७ जना महिलाहरूलाई नियन्त्रणमा लिएको प्रहरी सोही कार्यमा सङ्लन पुरुषलाई भने छोड्ने गरेको छ । साथै पर्सा राष्ट्रिय निकुञ्जले पनि आफ्नो क्षेत्रभित्र भएका यस्ता गतिविधि नियन्त्रणमा खासै चासो देखाएको छैन ।
प्रतिक्रिया