अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसलाउपर चित्त नबुझाउँदै धमाधम पुनरावेदनमा जान थालेको छ । यसअघि ४ मुद्दामा पुनरावेदनमा गएको अख्तियारले सोमबार थप दुई मुद्दामा पुनरावेदन गरेको छ ।
विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मध्ये राजस्व चुहावट र सार्वजनिक सम्पत्ति हानिनोक्सानी सम्बन्धी मुद्दाहरुमा सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
पछिल्लोपटक अख्तियार भागवत भट्टराई र लालु गिरिलगायत विपक्षी रहेको छुट्टाछुट्टै मुद्दामा सर्वोच्च गएको हो । भट्टराईलाई मागदाबी भन्दा कम बिगो कायम जरिवाना हुने र ६ वर्ष कैद तथा गणेशकुमार पोखरेललाई सफाइ पाउने गरी फैसला भएकोप्रति आयोगको असन्तुष्टि छ ।
यस्तै अर्को मुद्दामा प्रतिवादीहरू देवजङ शाही र रणधीर तुम्बालाई ठहर तथा छविलाल ढकाललाई भ्रष्टाचार निवारण ऐनको दफा ९ बमोजिम ठहर गरी दफा १९ बमोजिमको कसूरमा सफाइ दिइएकोमा अख्तियारको असन्तुष्टि छ । अन्य प्रतिवादीहरूलाई सफाइ पाउने ठहर भई फैसला भएको भन्दै आयोगले मागदाबी अनुसारकै सजायको माग पुनरावेदनमार्फत गरेको छ ।
प्रतिक्रिया