• २०८१ फाल्गुन ७ | Wed, 19 Feb 2025
  • न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको जाहेरी, घटनाको अनुसन्धान गर्दै प्रहरी

    न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कारको जाहेरी, घटनाको अनुसन्धान गर्दै प्रहरी

    कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार समेतको जाहेरी परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मीनबहादुर घलेका अनुसार एक महिलाले न्यायाधीश गिरीले वैवाहिक बलात्कार र घरेलु हिंसा गरेको भन्दै जाहेरी दिएको बताए । उनले भने, ‘मङ्सिरको पहिलो साता एक महिलाले न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको जाहेरी दिनुभएको छ, हामी जाहेरीमाथि अनुसन्धान गरिरहेका छौँ । अनुसन्धान गरिसकेपछि तथ्य र प्रमाणबाट कसुर गरेको देखिएमा हामी जाहेरी दर्ता गरेर कानुनी प्रक्रियामा अगाडि बढ्छौँ ।’

    बाँकेको नेपालगञ्ज स्थायी ठेगाना भएकी ती महिला र न्यायाधीश गिरीबीच २०७६ सालमा विवाह भएको पाइएको छ । पहिले जेठी श्रीमतीबाट चार सन्तानका पिता रहेका गिरी जेठी श्रीमतीसँग अलग भएपछि कान्छी श्रीमतीका रूपमा ती महिलासँग विवाह गरेका थिए । विवाहपछि दिपायल, कैलाली र काठमाडौँका सँगै बसेका उनीहरुबीच सम्बन्धमा खटपट आउँदा पटकपटक सम्बन्ध विच्छेद तथा वैवाहिक बलात्कारको उजुरी पर्ने र फिर्ता लिने गरेको पाइएको छ ।

    पछिल्लोपटक गिरी न्यायाधीश बनेपछि ती महिलाले गिरीविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी हुन् । तर प्रहरीले जाहेरी दर्ता नगरिदिएको भन्दै महिलाले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग, न्याय परिषद्, गृह मन्त्रालय लगायतको स्थानमा पनि गिरीविरुद्ध उजुरी दिएकी छिन् ।

    महिलाले विभिन्न स्थानमा दिएको उजुरीमा गिरीले आफूलाई बन्धक बनाएर ५ वर्षसम्म यौन शोषण गरेको आरोप लगाएकी छिन् । आफूलाई ५ वर्षसम्म यौनदासीका रूपमा राखेको, सन्तान सुख नदिएको र घरेलु हिंसा गरेको उजुरीमा उल्लेख छ ।

    महिलाको उजुरीपछि गिरी १५ दिने छुट्टी लिएर बसेका छन् । आफूमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको र आफू ती आरोपहरूको प्रतिवाद गर्ने तयारीमा रहेको न्यायाधीश गिरीले रातोपाटीलाई बताए ।

    गिरीले भने, ‘म माथि लगाइएको आरोप कपोलकल्पित र भ्रमपूर्ण हो । मलाई सिध्याउने नियतका साथ यो जाहेरी दिइएको छ । यसभन्दा अगाडि पनि धेरैपटक उनले यस्तै उजुरी र जाहेरी दिएर मलाई प्रताडित गराउने र ब्ल्याकमेल गर्ने काम गरिन् । नाताले उनी मेरी कान्छी श्रीमती हुन्, तर हरेकपटक ब्ल्याकमेल गर्ने र दुख दिने मात्रै काम गरिरहिन् । अब म पनि कानुनी उपचारकै खोजीमा छु ।’ यस विषयमा ती महिलासँग सम्पर्क गर्दा सुरुले फोन उठाए पनि पछि उनले आफ्नो मोबाइलको स्वीच अफ गरिन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर २५, आईतवार १०:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP