• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सरकारी कर्मचारीको नाममा खुलेआम ठगी, गर्ने एउटा गिरोह पक्राउ

    सरकारी कर्मचारीको नाममा खुलेआम ठगी, गर्ने एउटा गिरोह पक्राउ

    कार्यालय खडा गरेर रकम असुली !

    काठमाडौं । काठमाडौंमा नक्कली सरकारी कर्मचारी बनेर ठगी गर्ने एउटा गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘आन्तरिक राजस्व कार्यालय ठमेलका अधिकारी हुँ’ भन्दै होटेल तथा लजहरुबाट पैंसा असुल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरुले नक्कली अनुगमन अधिकृत र कार्यरत कर्मचारी बनेर बसपार्क क्षेत्रका होटेल तथा लजहरुबाट कर नतिरेको भन्दै शुल्क असुल्ने गरेका थिए ।

    ठगी र किर्ते गर्ने गिरोहमा संलग्न आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहोराले ठगी र किर्ते गर्ने गिरोहलाई पक्राउ गरी थप अनुसन्धान थालिएको बताए ।

    पक्राउ पर्नेहरुमा पूर्वी नवलपरासीका २९ वर्षीय मिनबहादुर विक, पाँचथरका २२ वर्षीया सिर्जना भट्टराई, अछामका १९ वर्षीय सागरजंग लुहार, २३ वर्षीय दुतकला विक, सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीया अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट, २५ वर्षीय डेविड धामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । विष्टको साथबाट आन्तरिक राजस्व कार्यालय लेखेको स्ट्याम्प छाप नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरु डेविड धामीको मास्टर प्लान अनुसार चल्ने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीले विष्टको साथबाटै अनुगमन अधिकृत लेखिएको स्ट्याम्प छाप एक थान, आन्तरिक राजस्व कार्यालयको लेटर प्याड तथा ठेलीहरु, राजस्वसम्बन्धी किताब, आन्तरिक राजस्व कार्यालयको सात थान परिचय पत्र र नगद ८४ हजार ७३० रुपैयाँ बरामद गरेको छ ।

    प्रहरीले थापाथली बस्दै आएका धामीको डेरामा खानतलासी गरेको थियो । सो क्रममा आन्तरिक राजस्व कार्यालय लेखिएको रसिद ४९ ठेली, रोजगारी आवेदन फारामहरु, इम्प्लोइमेन्ट एग्रीमेन्ट फारामहरु, लेटर प्याड, आन्तरिक राजस्वको परिचयपत्र, सीपीयू एक थान, डीआर एकाउन्ट ट्याक्स सोलुसन लेखिएको स्ट्याम्प एक थान बरामद गरेको छ ।

    एसएसपी बोहोराले भने, ‘मंसिर २३ गते काठमाडौंको नयाँ बसपार्कमा ‘हामी आन्तरिक राजस्व अनुसन्धानका कर्मचारी हौं, तपाईहरुको होटेल लजरुको कर तिरेको छैन र, कर तिर्नुपर्छ भन्दै,’ हिंड्ने गिरोहलाई नियन्त्रणमा लिएका छौं । उनीहरुलाई आन्तरिक राजस्वको ड्रेस र आइडी कार्डलगायत बरामद गरेका छौं । ’

    उनीहरुले होटेल तथा रेष्टुरेन्टले कर छली गरेको र नगद जरिवाना तिर्नुपर्ने भन्दै कर कार्यालय लाजिम्पाटबाट आएको बताउने गरेका थिए । गिरोहले रसिद समेत काटेको देखिएको बोहोराले बताए ।

    मुलुकी अपराध संहिता २०७४ परिच्छेद २१ को २४९ को ठगी गर्न नहुने कसुर बमोजिम कारबाही गर्ने प्रहरीको तयारी छ । यस्तै, किर्ते गर्न नहुने कसुर मुद्दा चलाउने गरी प्रहरी वृत्त महाराजगंजबाट थप अनुसन्धान भइरहेको छ ।

    विगत चार दिनदेखि बसपार्क इलाकाका होटेल, लज तथा फुटपाथ पसलबाट रकम असुलेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बोहोराले बताए । यो गिरोहले मोबाइल पेबाट ५ लाख ८ हजार ६४० रुपैयाँ संकलन गरेको खुल्न आएको छ ।

    हालसम्म चारजनाले लिखित जाहेरी पेश गरिसकेका छन् । प्रहरीका अनुसार अन्य पीडितहरु सम्पर्कमा आउने क्रम जारी छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ मंसिर २५, आईतवार १०:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP