• २०८१ माघ ३ | Thu, 16 Jan 2025
  • सप्तरी-२ मा सत्ता स्वार्थमा रमाएर जनतालाई धोका दिने उपेन्द्रको ‘उठिबास’

    सप्तरी-२ मा सत्ता स्वार्थमा रमाएर जनतालाई धोका दिने उपेन्द्रको ‘उठिबास’

    काठमाडौं- मधेश आन्दोलनको नेतृत्व गरिरहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीतिक उठिबास भएको छ। चुनावमा पराजय व्यहोरिसकेपछि उनले पदबाट राजीनामा दिनुपर्ने हो, तर उनी भने पद ओगटेर बसिरहेकै छन्।

    जनताबाट अस्वीकृत हुँदै उनको राजनीतिक उठिबास लाग्‍नुको मुख्य कारण सत्ता स्वार्थमा रमाएर जनताको मुद्दाहरुलाई अलपत्र छोड्नु नै रहेको छ। ०६४ सालपछि लगातार जितेर सांसद र मन्त्री भए, तर मधेसी जनताका जनजीविकाका सवालहरुलाई बिर्सिए।

    सत्ता स्वार्थमा रमाउन बानी परेर मधेसी जनतालाई झुक्याउँदै आएका उपेन्द्र यादवलाई यसपटक मधेसी जनताले नै झुक्याएका छन्। उनलाई आफ्नो नेता मान्‍न अस्वीकार गरेका छन्।

    मंसिर ४ गते सम्पन्‍न निर्वाचनमा यादव सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग फराकिलो मतले पराजित भएका छन्। २०६३ मा जारी भएको अन्तरिम संविधानमा संघीयता उल्लेख नभएपछि मधेसमा सुरु भएको आन्दोलनबाट नै यादवको नेपालको केन्द्रीय राजनीतिमा प्रभाव बढेको हो।

    उनले हरेक निर्वाचनमा मधेसका मुद्दा उठाउने र जिताएर पठाएपछि सम्बोधन गर्ने बताए पनि जितिसकेपछि सत्ताको खेलमा मधेसी जनतालाई नै बिर्सिने गरेका कारण पनि यसपटक उनको पराजय भएको हो। ०६४ को पहिलो संविधान सभा निर्वाचनबाट संसदीय राजनीतिमा आएका यादव पटकपटक मन्त्री र उपप्रधानमन्त्री बने पनि मधेसको मुद्दा सम्बोधन सकेनन् र ती मुद्दालाई उनले प्राथमिकतामा राख्‍न सकेनन्।

    २०७२ मा संविधान जारी हुँदा यादव सहित सबै मधेसी नेताहरुले ६ महिनाभन्दा लामो समय मधेस बन्द लगायतका आन्दोलन गरे। तर सफल भएनन्। मुद्दा सम्बोधन नहुँदै यादवले अन्य सहयात्री दललाई छाडेर निर्वाचनमा होमिने निर्णय गरे। मधेसमा त्यसको आलोचना भयो। तर यादवले वास्ता गरेनन्। पछि मधेस केन्द्रित अन्य दलहरु पनि निर्वाचनमा जान बाध्य भए।

    निर्वाचन लगत्तै यादव एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री बन्न गए। जबकि मधेसमा भएको लामो आन्दोलनको मुख्य निशानामा तीनै ओली थिए।

    यादवले ओलीसँग हातेमालो गरेपछि उनको पार्टीमा बिस्तारै समस्या देखिन थालेको थियो। रेणु यादव सहितको एउटा समूह उनको पार्टीबाट फुट्न लाग्दा उनले राजपासँग एकता गरेर फुटलाई जोगाए र जसपा बनाए। तर, ओलीको कदमलाई हेर्ने दृष्टि नमिल्दा जसपा फुट्यो। यसले यादवमाथि मधेसको मुद्दाभन्दा पनि सत्ताको खेलमा बढी केन्द्रित भएको आरोप लाग्यो। जुन अहिले उनको हारको कारण बन्‍न पुग्‍यो।

    ०६३ पछि उनलाई मधेस क्षेत्रका बलिया नेताको रुपमा प्रस्तुत गरिन्थ्यो। मधेसी जनताले पनि उनलाई आफ्नो भरोसाका रुपमा हेरेका थिए। तर, पटक-पटक जितेर गए पनि जनताको जीवनस्तर उकास्‍न र विकासका लागि भने कुनै पनि काम गर्न नसकेको र विदेशीहरुको एजेन्ट बनेर व्यक्तिगत लाभमा रमाएपछि भने यसपटक उनलाई मधेसी जनताले सजाय दिएका हुन्।

    उनले अहिले मधेसी जनताप्रतिको व्यवहारमात्र नभएर आफ्नो राजनीतिक दर्शन पनि परिवर्तन गर्दै गएपछि जनताले यादवलाई नराम्रो गरी पछारिदिएका हुन्। पहिलो मधेस आन्दोलनबाट केन्द्रीय राजनीतिमा उदाएका उपेन्द्र यादव र उनी नेतृत्वको तत्कालीन पार्टी मधेसी जनअधिकार फोरम अहिले जनता समाजवादी पार्टी नेपालमा परिणत भएको छ।

    पार्टीको नाम मात्रै होइन, यादवको राजनीतिक मिसन पनि फेरिएको छ। मधेसको मुद्दा र अधिकार तथा पहिचान सहितको संघीयताका लागि राजनीतिमा स्थापित भएका यादव पछिल्लो समय त्यसभन्दा अघि बढेर समाजवादी केन्द्र बनाउन लागिपरेका थिए। अशोक राई र बाबुराम भट्टराई नेतृत्वका पार्टीसँगको एकता त्यसैको लागि थियो।

    यादवको पछिल्लो राजनीतिक यात्रालाई मधेसमा सकारात्मक रुपमा लिइएको पाइँदैन। उनले पार्टीको नाम मधेसी जनअधिकार फोरमलाई संघीय समाजवादी फोरम बनाउँदै गर्दा मधेसवाद नेपालमा कुनै राजनीतिक विचारधारा नभएको टिप्पणी गरेका थिए। जसप्रति मधेस आन्दोलनमा जोडिएका र समभाव राख्नेहरुले असन्तुष्टि जनाएका थिए। र यो निर्वाचनको क्रममा कैयौँले समाजिक सञ्जालमा यही सवाल उठाउँदै यादवलाई मधेसवादी नभएका कारण मधेसी जनताले भोट नदिएको बताउने गरेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन न्युज डेस्क    
  • २०७९ मंसिर १३, मंगलवार ०५:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP