काठमाडौं,२७ भदौ। आन्दोलनका क्रममा आफ्ना साथीहरुलाई प्रहरीले पक्राउ गरेपछि मिटरब्याजी पीडितहरु प्रहरी कार्यालयमा धर्ना बसेका छन् । न्याय माग्दा उल्टै प्रहरी प्रशासनबाट हस्तक्षेप भएको भन्दै उनीहरु महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा धर्नामा बसेका हुन्।
सोमबार मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले लाठी चार्ज गरेको थियो। सोही क्रममा दर्जनौं प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ।
आन्दोलनको ४१औं दिन प्रहरीले दमन गरेर केही पीडितलाई पक्राउ गरी महानगरिय प्रहरी वृत्त कीर्तिपुरमा राखेको छ। उनीहरुलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। प्रहरीको लाठीबाट कतिपय पीडितहरु घाइते भएका छन्।
पीडितहरु प्रहरी दमनविरुद्ध प्रहरी कार्यालयमै नाराजुलुस गरिरहेका छन् । प्रहरी नियन्त्रणमा रहेको मिटरब्याजीविरुद्धको संघर्ष समितिका अध्यक्ष रामसुरत गुप्ताका अनुसार चरम गरिबीको चपेटामा रहेका पीडितहरुलाई नै प्रहरीले थप पीडा दिएको बताए। उनले भने, ‘ मजदुर र किसानलाई साहुहरुले ऋण लिँदा उठिबास छन् । मर्दापर्दा गाउँका मिटरब्याजीहरुसँग गरिबहरु कर्जा लिन्छन् । तिनै पीडितमाथि प्रहरीले पनि दमन गर्यो।’
उनले मिटरब्याजीको पीडा खप्न नसकेर देशैभरीका पीडितहरु न्याय माग्दा प्रहरीको लाठी खानुपरेको दुखेसो पोखे। उनले भने,’ मिटरब्याजीको पीडा खप्नै नसकेर देशैभरीका पीडितहरु न्याय माग्न हामी ४१ औं दिनका लागि कीर्तिपुरबाट माइतीघरमा धर्ना बस्न जाँदा प्रहरीले हामीमाथि दमन गरेको छ । हाम्रा साथीहरुका टाउका फुटेका छन् । यसको जिम्मा सरकारले लिनुपर्छ।’
उनीहरुले घाइतेको तत्काल उपचारको माग गरेका छन् । आफ्नो माग सरकारले नसुनेको पीडित प्रेमनारायण कोइरीले बताए ।
प्रतिक्रिया