काठमाडौं,०५ भदौ । सडक पीचको माग गर्दै थलीका स्थानीयबासीले आइतबार सडक अवरुद्ध गरेका छन्।
लामो समयदेखि सडक मर्मत नगरेको भन्दै थलीबासीले बिहान करिब ९ बजेदेखि सडक अवरुद्ध गरेका हुन्। पूर्वप्रधानमन्त्री माधव नेपालको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै लामो समयदेखि आन्दोलित हुँदै आएका छन्। आक्रोशित भएका स्थानीयले सडकमा बाँसका भाटा तेर्स्याएर राखेका छन्।
सडक अवरुद्धका कारण चाबहिल, बौद्ध, जोरपाटीहुँदै साँखु ,आलापोट,गागलफेदी चल्ने सम्पूर्ण सवारीसाधन ठप्प भएका छन्। रत्नपार्क,चाबहिलबाट गएका सावरी साधनहरु थली उकालोमै रोकिएका छन् भने उता साँघु, गाँगलफेदीबाट आएका सवारीहरु थलीमै रोकिएका छन्। प्रदर्शनकारीले एम्बुलेन्स र विद्यालयका बसबाहेक अन्य सवारीलाई आउ-जाउमा रोक लगाएका छन्।
२०७८ चैत्रमा पनि सडक पीचको माग गर्दै स्थानीय आन्दोलित भएका थिए। त्यतिबेला एमालेका नेता रामेश्वर फुयाँलले तत्कालै पीच गर्ने आवश्वन दिएपछि आन्दोलन स्थगित भएको थियो। फुयाँल हाल कागेश्वरी मनोहर नगरपालिकाका मेयर हुन्।
तर, अहिलेसम्म सडक पीच नहुँदा स्थानीयले हिलो र धूलोबाट आक्रान्त भएका छन्। केही समयअघि बौद्धका स्थानीयबासीले पनि सडक पीचको माग गर्दै आन्दोलित भएका थिए। आन्दोलनपछि उक्त सडक कालोपत्रे भएको थियो।
प्रतिक्रिया