शिशु जन्मिएपछि अचेल कतिपयले आमाको दुधको साटो ‘फर्मुला मिल्क’ अर्थात् बट्टाको दुध खुवाउने गर्दछन् । आमाको दुध आएन भन्दै बच्चालाई बट्टाको दुध खुवाइन्छ । चिकित्सकहरु भने आमाको दुध नै खुवाउन सुझाव दिन्छन् । आमाको दूधमा पोषण तत्व हुनका साथै रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले अनिवार्य रुपमा आमाको दुध नै खुवाउनुपर्ने उनीहरुको भनाइ छ ।
सुत्केरी हुनासाथ आमाको दुध नआउने समस्या धेरैजसोमा हुने गर्दछ । कान्ति बाल अस्पताल नर्सिङ प्रशासक प्रमुख रोशनी लक्ष्मी तुइतुइ भने यसका लागि गर्भावस्थादेखि नै तयारी गर्नुपर्ने बताउँछिन् ।
‘बच्चाको पहिलो आहार भनेको आमाको दुध नै हो,’ उनले भनिन्, ‘त्यसैले आमाको दुध राम्रोसँग आउनका लागि गर्भावस्थादेखि नै विशेष तयारी गर्नुपर्छ ।’
यसका लागि शारीरिक तयारी, मानसिक तयारी, परिवार तथा श्रीमानको सहयोगको ठूलो आधार हुने उनले बताइन् । उनी भन्छिन्, ‘दुध बन्ने स्तनमा हो । दुध बन्नका लागि प्रोल्याक्टिन र अक्सिटोसिन हर्मोनको मुख्य भूमिका हुन्छ ।’
अक्सिटोसिन र प्रोल्याक्टिन हर्मोनले गर्भावस्थादेखि नै दुध बनाउने तयारी गर्ने उनको भनाइ छ । जब आफ्नो पेटमा बच्चा आएको थाहा हुन्छ, त्यस बेलादेखि गर्भवती आमाले मेरो बच्चालाई आफ्नै मात्र दुध खुवाउँछु भनेर मानसिक रुपले तयार रहनुपर्ने उनले बताइन् । उनका अनुसार यसबाट इन्डोफिन हर्मोन तयार हुन्छ, जसले आमाको स्तनमा दुध बन्न उत्तेजकको भूमिका खेल्छ ।
त्यस्तै आमालाई मानसिक रुपमा पारिवारिक सदस्य श्रीमान, सासु, ससुरा र अन्य व्यक्तिले पनि बच्चा जन्मिसकेपछि आफ्नो दुध खुवाउनुपर्छ भनेर पहिल्यैदेखि तयार रहन सहयोग गर्नुपर्ने उनले बताइन् । सँगसँगै गर्भवतीलाई खानपान, आहार र आरामको पनि आवश्कता पर्ने भएकाले यी कुरामा परिवारले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
गर्भावस्थादेखि कस्तो तयारी गर्ने ?
नर्सिङ प्रमुख तुइतुइका अनुसार गर्भवस्थादेखि नै स्तनपानका लागि तयारी गर्नुपर्छ । गर्भावस्थामै स्तनको मुन्टो बाहिर निस्केको हुनुपर्ने उनले बताइन् । त्यसका लागि गर्भवती अवस्थाको २८ हप्ता अर्थात् सात महिना पछि मुन्टोलाई भ्यास्लिन वा केही नरम चिज लगाई औंलाले मसाज गर्दै बाहिर निकाल्न उनको सुझाव छ ।
‘यदि मुन्टोको वरिपरि केही फोहोर छ भने सफा गर्नुपर्छ,’ उनले भनिन्, ‘कहिलेकाहीँ त्यो फोहोरले दुध आउने नलीलाई समेत बन्द गर्न सक्छ, त्यसैले सधैँ सफा गर्नुपर्छ ।’
यसो गर्दा स्तनको मुन्टो बाहिर निस्किन्छ र बच्चाले राम्रोसँग चुस्न सक्ने हुन्छ । स्तनको मुन्टो बाहिर निस्किएन भने बच्चाले दुध चुस्न नसक्ने र दुध गानिएर ठूलो हुने उनको भनाइ छ । नुहाउने समयमा पनि स्तनको सरसफाइ गर्नुपर्ने उनले बताइन् ।
प्रतिक्रिया