• २०८१ फाल्गुन ८ | Thu, 20 Feb 2025
  • स्कुलकै पोसाकमा गर्भपतनका लागि आउँछन् किशोरी

    स्कुलकै पोसाकमा गर्भपतनका लागि आउँछन् किशोरी

    नेपाल परिवार नियोजन संघका एड्भोकेसी फोकल जमुना सिटौला स्कुलकै पोसाकमा गर्भपतन ( Teenager Abortion ) का लागि किशोरी आउने खुलासा गर्नुहुन्छ । उहाँका अनुसार झण्डै १ वर्ष अगाडि, करिब १७ वर्षकी किशोरी आफ्नो केटा साथीसँग सेवा लिनलाई नेपाल परिवार नियोजन संघको क्लिनिकमा आइपुग्छिन्।

    आफ्नो सम्पूर्ण जाँचपछि आफू गर्भवती भएको थाहा पाउँदा आत्तिएर झण्डै होसै गुमाउन पुग्छिन्, सँगै आएका उनका केटा साथी डरले काम्न थाल्छन्। अनि उनीहरूलाई सम्हाल्न परामर्शदाता र सेवाप्रदायकहरूले राम्रै प्रयास गरिरहेका हुन्छन्।

    गुणस्तरीय परिवार नियोजन सेवाको पहुँच सबैमा पुर्याइ गर्भपतनलाई न्यूनिकरण गर्नु पहिलो प्राथमिकता हो, तर अपेक्षाअनुसार भइरहेको छैन। गर्भपतनको अधिकार महिलाको मानव अधिकार हो, महिला तथा युवतीहरूलाई बच्चा जन्माउने वा नजन्माउने, कहिले र कतिजना जन्माउनेजस्ता सवालमा उनीहरूले नै स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने अधिकार महिलाको अधिकार हो।

    किशोरीले रुँदै कराउँदै आफ्नी आमालाई फोन गरिरहँदा आत्तिएर आमा संघको क्लिनिकमा आइपुग्छिन्, स्कुल पठाएकी छोरी क्लिनिकमा यस्तो खबर सुनेर आउँदा दुखी हुँदै आत्तिदै आफ्नो श्रीमान् बोलाउँछिन, फेरि श्रीमान्ले आत्तिदै आफ्नो छोरालाई बोलाउँछन्। जब छोरा क्लिनिकमा आइपुग्छ तब केटा कार्यालयको पर्खाल नाँधेर भाग्छ।

    केटा रैछ छोराको मिल्ने साथी। चारैजनाको त्यहाँ कोलाहाल हुन्छ, अन्त्यमा सुरक्षित गर्भपतन सेवा लिनुबाहेक अर्को विकल्प उनीहरूसँग हुँदैन। गर्भ अलिक ठूलो भैसकेको हुनाले औषधिको प्रयोगबाट गर्न नमिल्ने भएकाले औजारको माध्यमबाट गरियो।

    एउटा सानो कमिलाले टोक्दा पनि सहन नसक्ने मेरी छोरीले कसरी सही होला भन्दै अझ बढी पीडित थिए उनीहरू। यो एउटा उदाहरण मात्र हो, भिन्दा भिन्दै कथा भएका यस्ता थुप्रै उदाहरण हरेक दिन, हरेक हप्ता आइरहेकै हुन्छन् हाम्रा सेवा केन्द्रहरूमा उहाँ भन्नुहुन्छ ।

    सही सूचना पाएका आधारमा सही ठाउँमा आइपुगेकाले उसकोे गर्भपतन सुरक्षित भयो। अन्य ठाउँमा असुरक्षित गर्भपतन गराएर, औषधि पसलबाट गर्भ फाल्ने दबाई खाएर नाजुक अवस्थामा संघका क्लिनिकमा आइपुग्नेहरूको संख्या पनि उत्तिकै छ। औषधि पसलहरूमा सजिलै यस्ता औषधि पाइने भएकाले विशेष गरी युवावर्गले गर्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा लिइरहेका छन्।

    नेपालमा किशोरी अवस्थामा गर्भवती हुने दर उच्च बिन्दुमा रहेको छ, सानो उमेरमा गर्भवती बन्नु र बारम्बार गर्भपतन गराइरहँदा महिलाको प्रजनन् स्वास्थ्यमा प्रतिकूल असर परेको तथ्य सर्वविदितै छ।

    यस्तो अवस्थालाई न्यूनिकरण गर्न नेपाल परिवार नियोजन संघले विशेष गरी महिला, किशोरकिशोरी र अन्य जोखिमवर्गलाई आफ्ना कार्यक्रमको विशेष प्राथमिकतामा पारेर उनीहरूको प्रजनन् स्वास्थ्य र अधिकारलाई सम्बोधन गरिहेको छ, जसको परिणामस्वरूप संघले गैरसरकारी क्षेत्रबाट प्रदान गरिने प्रजनन् स्वास्थ्यको राष्ट्रिय योगदानमा अधिकांश हिस्सा ओगटेको छ भने राष्ट्रिय सुरक्षित गर्भपतन सेवामा १७ प्रतिशत योग्दान पुर्याइरहेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ फाल्गुन २२, सोमबार ०९:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP