• २०८१ कार्तिक २२ | Thu, 07 Nov 2024
  • अभिषेकको स्थानान्तरणमा आनाकानी, राज्यकै संरक्षणमा आतंक

    अभिषेकको स्थानान्तरणमा आनाकानी, राज्यकै संरक्षणमा आतंक

    उच्च अदालत विराटनगरले स्थानान्तरणको बाटो खुला गरेपनि ‘गुण्डानाइके’ अभिषेक गिरीलाई मोरङबाट मकवानपुरको भीमफेदी कारागार पुर्‍याउन प्रशासनले आनाकानी गरिरहेको छ।

    स्थानान्तरणका लागि स्थानीय प्रशासनले सुरक्षाको प्रबन्ध नमिलाउँदा अपराधिक पृष्ठभूमिका गिरी चौकीदारको जिम्मेवारीसहित मोरङ कारागारमै छन्। अपहरण तथा शरीर बन्धक मुद्दाका कैदी उनलाई भीमफेदी लगिसक्नुपर्नेमा हालसम्ममा कुनै प्रक्रिया अघि बढाइएको छैन।

    राज्यकै संरक्षणमा रजगज गरेर उनले मोरङ कारागारभित्र आतंक मच्चाइरहँदा ठूलो संख्याका कैदीबन्दीले असुरक्षित महसुस गरिरहेका छन्। स्रोतका अनुसार आफ्नाविरुद्धका कुरा बाहिर लैजाने कैदीबन्दीलाई गिरीको समूहले कारागारभित्र चरम यातना दिइरहेको छ।

    ‘स्थानान्तरणको निर्णय भएको लामो समयसम्म मोरङमै राखिनुले राज्यको ‘पावर’ नै गिरीको कब्जामा छ भन्ने प्रष्ट हुन्छ। चौकीदारको जिम्मेवारी पनि खोसिएको छैन,’ स्रोतले भन्यो, ‘त्यही जिम्मेवारीका बलमा उनले मच्चाइरहेको आतंक वर्णन गरिसाध्य छैन। राज्यकै संरक्षणमा खुलेआम आतंक मच्चाइरहेका छन्।’

    कारागार स्रोतका अनुसार सरुवाको निर्णय कार्यान्वयन नहुँदा गिरीको मनोबल झन् बढेको छ। ‘कैदीबन्दीमाथि गिरीबाट हुने आर्थिक र शारीरिक शोषण पछिल्लो समय झन् बढेको छ। तर, उनीसँगको साँठगाँठ र मिलेमतोका कारण प्रशासन लाचार बन्यो,’ कारागारका एक कैदी भन्छन्, ‘त्यसको पीडा हामी दिनरात खेप्दैछौँ। आफ्नो सरुवा तत्काललाई कार्यान्वयन नगराउनका लागि गिरी सरकारका उच्च अधिकारीसम्मलाई प्रभावमा पार्न सफल भए।’

    सरुवाको निर्णय कार्यान्वयन नहुनुले राज्य सञ्चालकसँग गिरीको भित्री सम्बन्ध रहेको प्रष्ट हुने ती कैदी बताउँछन्। ‘हामीमाथि शोषण गरेर असुलेको रकम नियमित बुझाउने भएकैले राज्यका निकाय गिरीसँग नतमस्तक हुन्छन्। अहिलेसम्म उनलाई भीमफेदी नलैजानुको कारण नै यही हो,’ गिरी आतंकको पीडा र फेहरिस्त पोख्दै उनले भने, ‘उल्टै राज्यले संरक्षण गरिदिँदा मोरङ कारागारलाई पूरै आफ्नो नियन्त्रणमा लिएर मनोमानी गरिरहेका छन्। उनको आतंक र दबदबा हेर्दा राज्यविहीनताको अवस्था प्रष्ट हुन्छ।’

    ती कैदीले जतिसक्दो चाँडो गिरीलाई स्थानान्तरण गरे मात्रै मोरङका कैदीबन्दीले राहत पाउने र उनको अनेक अवैध धन्दा बन्द हुने उल्लेख गरे।

    कारागारभित्रबाटै असुली र मिटरब्याजको धन्दा चलाउनेलगायतका अपराधिक विवादमा मुछिएका गिरीको स्थानान्तरणका लागि कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासनसमेतका निकायले चासो दिएका छैनन्।

    कारागारबाट भिन्दै अपराधिक साम्राज्य खडा गरेर कैदीबन्दी तथा उद्योगी व्यवसायीमाथि मानसिक, शारीरिक तथा आर्थिक शोषण गरिरहेको खुलेपछि गिरीलाई मोरङबाट स्थानान्तरण गरेर भीमफेदी लैजान कारागार व्यवस्थापन विभागले  लिखित निर्देशन दिएको थियो। उक्त पत्र मोरङ कारागारलाई माघ १ गते नै प्राप्त भयो।

    मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार लिखित निर्देशन प्राप्त हुनासाथ गिरीको स्थानान्तरणको प्रक्रिया अघि बढाइएको थियो। कारागार विभाग, जिल्ला प्रशासन, प्रहरी, कारागार सुरक्षा गार्डसमेतलाई बोधार्थ दिएर पत्राचार गरिसकिएको उनले बताए।
    ‘भीमफेदी कारागारलाई पनि यसको जानकारी गराइयो। उचित सुरक्षा व्यवस्था मिलाएर स्थानान्तरण गर्नका लागि प्रशासनलगायतका निकायलाई लिखित आग्रह गरिसकिएको छ,’ उनले भने, ‘हाम्रोतर्फबाट सबै प्रक्रिया पूरा भइसक्यो। तर, सरुवाको निर्णय हालसम्म कार्यान्वयन भएको छैन।’

    सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई लिखित जानकारी गराइसकिएको र स्थानान्तरणको थप प्रक्रिया प्रशासनबाटै अघि बढ्ने भगतको भनाइ छ। उनले अर्को चौकीदार नियुक्त नगरिएका कारण हालसम्म गिरी नै उक्त जिम्मेवारीमा रहेको पनि बताए।

    स्थानान्तरण गर्दा आफू असुरक्षित हुने र आफ्नो कैद अवधि सकिन लागेका बेला नियमविपरीत सरुवाको निर्णय गरिएको दाबीसहित गिरीले माघ ३ गते उक्त निर्णयविरुद्ध अन्तरिम आदेशको माग राखेर उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए।

    रिटमाथि सुनुवाइ गर्दै यही माघ १२ गते उच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्‍यो। न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजलासले मागबमोजिम अन्तरिम आदेश जारी नगरेपछि गिरीलाई भीमफेदी लैजान बाटो खुलेको उच्च अदालतका सूचना अधिकारी ओमराज सुवेदीले बताए। उनका अनुसार गिरीलाई स्थानान्तरण गर्न कानुनी हिसाबमा कुनै बाधा छैन।

    तर, स्थानान्तरणका लागि भूमिका खेल्नुपर्ने सरकारी निकाय नै गिरीको सहयोगीका रूपमा प्रस्तुत भइरहेको तथ्य छिपेको छैन। सम्बन्धित निकाय गैरजिम्मेवारीपूर्ण जवाफ दिएर बसिरहेका छन्।

    मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराई नेतृत्वको टोलीले बुधबार कारागारको निरीक्षण गरेको थियो। त्यसक्रममा केही कैदीबन्दीलाई उचालेर गिरीले आफ्नो सरुवा रोक्नुपर्ने मागसहितको निवेदन दिन लगाएका थिए।

    उक्त निवेदन गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागमा पठाइसकिएको बताउँदै प्रशासन भने गिरीको स्थानान्तरण नगरिकन कानमा तेल हालेर बसेको छ।

    मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले स्थानान्तरणको प्रक्रिया अहिले अवरुद्ध रहेको बताए। ‘सरुवा रोक्नुपर्ने मागसहित अदालतमा निवेदन दिएको पायौँ। मानवअधिकार आयोगमा पनि कुरा पुगेको रहेछ,’ पोखरेल भन्छन्, ‘गिरीले मेरो ज्यानको असुरक्षा भयो भनेका छन्। त्यही भएकाले स्थानान्तरण रोकिएको हो।’ गिरीलाई भीमफेदी लैजान नसक्नुमा अरुपनि विविध कारण रहेको उनको दाबी छ।

    कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणी पाण्डे गिरीको स्थानान्तरण तत्काल हुन नसकेको बताउँछन्। ‘गिरीको पक्षमा अन्तरिम आदेश जारी नगरे पनि अदालतबाट फैसला आइसकेको छैन। मुद्दा विचाराधीन छ,’ उनले भने, ‘त्यसको टुंगो लागोस भनेर अहिलेसम्म केही नगरी बसेका हौँ। अदालतमा विचाराधीन मुद्दामा हामी काम गर्दैनौँ।’

    पाण्डेले कारागारभित्र गिरीले गरिरहेको हर्कतका बारेमा सर्वविदित नै रहेको बताए। ‘कारागारभित्र गिरीबाट के कस्ता हर्कत भइरहेका छन् भन्ने कुरा तपाईं हामी सबैलाई थाहै छ,’ उनले भने, ‘तर, स्थानान्तरण नगरिएको विषयमा सबै कुरा बोल्न मिल्दैन।’

    स्थानान्तरणअगाडि नै सरुवाको जानकारी पाएका गिरीले उक्त निर्णय बदर गराउन दबाब दिने उदेश्यले केही कैदीबन्दीलाई विरोध प्रदर्शनसमेत गर्न लगाएका थिए। गिरीको दाबी अनुसार उनको कैद भुक्तान अवधि आगामी फागुन ३ गते सकिँदैछ।

    अर्को कारागार जाँदा आफ्नो अपराधिक साम्राज्य भत्किने भएपछि सजाय अवधि सकिन लागेको जिकिर गर्दै उनले मोरङमै बसेर कैद कटाउन खोजिरहेका छन्।

    तर, कैदी पूर्जी अनुसार गिरीको कैद अवधि २०८० साल साउन १६ गतेसम्मको रहेको मोरङ कारागारले जनाएको छ। ‘उनी २ पटक चौकीदार र नाइकेसमेत भइसकेका कैदी हुन्। कारागार ऐनमा चौकीदार र नाइके भइसकेका व्यक्तिको कैदमा केही छुट दिने व्यवस्था छ,’ कारागार स्रोतले भन्यो, ‘तर, त्यसका लागि असल आचरण प्रदर्शन गर्नुपर्छ। आचरण र व्यवहारलाई हेरेर उक्त छुट दिने कि नदिने भन्ने निर्णय कारागार व्यवस्थापन विभागले गर्छ।’ स्रोतका अनुसार गिरीको अपराधिक हर्कतका कारण उनले कैदमा छुट पाउने सम्भावना छैन।

    युवती प्रयोग गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडका लेखा सहायक अच्युतप्रसाद रेग्मीलाई बन्धक बनाएर २०७० सालमा फिरौती मागेको घटनामा विराटनगर घर भएका गिरीलाई अदालतले दोषी ठहर गरेको थियो।

    त्यही घटनासँग सम्बन्धित कैद भुक्तान गर्ने क्रममा चौकीदारको जिम्मेवारी पाउन सफल सरकारद्वारा संरक्षित अपराधी गिरीले कारागारभित्र बसेर सीमा नाघेर अपराधिक अत्याचार गरिरहेका हुन्।

    फौजदारी कानुनका विज्ञहरू अदालतको निर्णयपछि पनि स्थानान्तरणलाई इन्कार गरिरहेका गिरीलाई भीमफेदी नलैजानु अचम्मको विषय भएको बताउँछन्। ‘गिरीको स्थानान्तरण नहुनुले राज्यसँग उनको कस्तो ‘कनेक्सन’ रहेछभन्ने प्रष्ट हुन्छ।

    अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गरिरहेको कैदीले सरकारको निर्णयलाई चुनौती दिनुले राज्यविहीनताको अवस्था झल्कियो,’ एक जना वरिष्ठ अधिवक्ता भन्छन्, ‘कानुनी शासन पालना गराउन राज्य चुक्यो। यो घटना शान्ति सुरक्षा राज्यको नियन्त्रणमा छैन र राज्य निकम्मा भइसकेको गतिलो उदाहरण हो।’

    गिरीको निर्णय कार्यान्वयनमा ध्यान नदिनु गम्भीर विषय भएकाले राज्यका निकायमाथि नै छानबिन गर्नुपर्ने अवस्था आएको उनले बताए। ‘ममाथि अन्याय भयो भनेर गिरीले भन्दा अदालतले समेत अस्वीकार गरेको सन्दर्भमा आफ्नो निर्णय लागू गर्न नसक्नु राज्यको कमजोरी हो,’ उनले भने, ‘यो घटनाले गृह प्रशासनको नियन्त्रणमा कुनै पनि कारागार छैनन् भन्ने सन्देश दिएको छ।’

    कैदीले राज्यभन्दा ठूलो हुँ भन्ने सन्देश दिइरहँदा सरोकारवाला निकाय निरीह र लाचार बन्नु मुलुककै लागि दुर्भाग्यपूर्ण भएको ती वरिष्ठ अधिवक्ताको भनाइ छ। ‘राज्यका निकायमा बसेका पदाधिकारीहरूले गृह प्रशासनको निर्णय कार्यान्वयन नगरेर लाचारी प्रकट गर्नु नागरिकको शान्ति सुरक्षा र अमनचयनको प्रतिबद्धताविपरीत हो,’ उनले भने, ‘अपराधीले हल्लाउँदा हल्लिने र थर्काउँदा थर्किने राज्यमा सर्वसाधारण नागरिकको सुरक्षाको प्रत्याभूति कसरी हुन्छ ?’

    उनका अनुसार कारागार अशान्त बनेको दृष्टान्तले पछिल्लो समय गिरीको अत्याचार थप मौलाएको प्रष्ट हुन्छ। तर, गिरी आतंकमा राज्य रमितेको बनेको छ। त्यसलाई रोक्न कुनै प्रयास भएको छैन।

    गिरी २०७४ साल चैत २३ गतेसम्म मोरङ कारागारकै चौकीदार थिए। गुण्डागर्दी गरेर कारागारबाटै अवैध धन्दा चलाइरहेको पाइएपछि स्थानान्तरण गरेर काठमाडौंको डिल्ली बजार कारागार लगियो। नेपाली कांग्रेसका नेताको दबाब र शेरबहादुर देउवा नेतृत्वको सरकारका गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा २०६८ साल मंसिर ९ गते पुनः मोरङ कारागार ल्याएर उनलाई चौकीदारको जिम्मेवारी दिइयो।

    त्यतिबेला ठूलो रकम खर्च गरेर उनी मोरङ आएको अप्रमाणित चर्चा छ। राज्य सञ्चालकलाई नै प्रभावमा पारेर मोरङ आएपछि पुनः सुरु भएको गिरीको अवैध धन्दा र आतंकमा स्थानीय प्रशासनले सहयोग गरिदियो। स्रोतका अनुसार अहिले पनि गिरीसँगको मिलेमतोका कारण प्रशासनले उनलाई भीमफेदी लैजान चाहेको छैन।

    तर, उनलाई नजिकबाट चिन्नेहरू मोरङबाट नहटाएसम्म कैदीबन्दी, उद्योगी व्यवसायी र सर्वसाधारणमाथि गिरीको अत्याचार कायमै रहने बताउँछन्। गिरीले विराटनगरका उद्योगी व्यवसायीलाई दुःख दिइरहेको, असुली र मिटरब्याजको धन्दा चलाएको, यातना दिँदै कैदीबन्दीसँग रकम असुल्ने गरेको लगायतका सूचना गृह मन्त्रालयसम्म पुगेको छ।

    मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ। कारागारभित्र दैनिक उपभोग्य वस्तु, टेलिफोन र क्यान्टिनमा अत्याधिक मूल्य तिर्नुपर्ने कैदीबन्दीको बाध्यता छ। त्यहाँको आम्दानीमा चौकीदारको हालीमुहाली हुन्छ। त्यहाँमाथि पैसा कमाउन अनेक आतंक खडा गरेर गिरीले अकूत सम्पत्ति आर्जन गरेको उनीनिकट स्रोतले बतायो।

    स्रोतका अनुसार गुण्डागर्दीको राज फैलाएर जोडेको सम्पत्ति गिरीले आफन्त र नजिकका नातेदारका नाममा राखेका छन्। कमाउने थलो गुम्ने भएपछि उनले मोरङ कारागार छाड्न नमानेको एक कैदी बताउँछन्। मोरङ कारागारमा हाल १ हजार २९ कैदीबन्दी छन्। जसमा ९ सय २६ पुरुष, ९८ महिला र ५ जना आश्रित बालबालिका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ माघ १९, बिहीबार १३:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP