परासी । सीमा क्षेत्रबाट हुने चोरी निकासी नियन्त्रण कार्यमा उदासिनता देखाएको भन्दै जिल्ला प्रहरी कार्यालय नवलपरासीले प्रहरी चौकीका इन्चार्जहरुलाई तानेको छ । उनीहरुलाई चौकीबाट तानेर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा पठाइएको छ ।
त्यसरी तानिएकामा जिल्लामा सबैभन्दा बढी चोरी निकासी हुने सीमा नाकाका इन्चार्ज छन् । चोरी निकासी नियन्त्रणमा प्रभावकारी भूमिका नखेलेको भन्दै जिल्ला प्रहरी प्रमुख एसपी ऋषिराम कँडेललाई प्रहरी हेड क्वाटरले चार दिनअघि तानेसँगै सीमा नाकाका इन्चार्जलाई पनि तानिएको जिल्लास्थित प्रहरी स्रोतले जनाएको छ ।
एसपी कँडेल हेड क्वाटर तानिएपछि प्रहरी प्रमुखको जिम्मेवारी डिएसपी भोजराज पाण्डेलाई दिइएको छ । सीमा नाकाबाट सबैभन्दा बढी चिनी, कपडालगायतका सामाग्रीको तस्करी हुँदै आए पनि प्रहरी मौन रहेको आरोप लाग्दै आएपछि जिल्लाका छ वटा सीमा चौकीका इन्चार्जलाई दुई दिनअघि जिल्ला प्रहरी कार्यालयले तानेको हो । जिल्लामा १२ प्रहरी चौकी छन् ।
पुरानालाई हटाएर नयाँ इन्चार्ज पठाइएकामा प्रतापपुरको बसैया, पाचपेंडा, सुस्ताको नर्सही र कुडिया प्रहरी चौकी छन् । त्यसैगरी सरावलको भूजहवा र रामग्रामको तनवा चौकीका इन्चार्जलाई पनि तानिएका छन् । इन्चार्ज तानिएको बारे प्रहरी प्रमुखको समेत जिम्मेवारी समालेका डिएसपी भोजराज पाण्डेले केही चौकीका इन्चार्जको फेरबदल गरेको बताए ।‘
सीमाबाट हुने चोरी निकासीलाई अझ बढी कडाई गर्दै प्रभावकारी नियन्त्रण गर्नका लागि नयाँ इन्चार्ज पठाएका हौं । ’यसलाई नियमित प्रकृया भनेर बुझ्दा पनि हुन्छ’, पाण्डेले भने । यसअघिका इन्चार्जहरु डेढवर्षदेखि दुई वर्षसम्म एउटै चौकीमा बस्दै आउने गरेका थिए । अहिले तानिएका इन्चार्जमा ३ देखि ६ महिनाअघि चौकी गएका छन् ।
प्रतिक्रिया