रुपन्देहीको भैरहवामा रहेका बाल सुधारगृहबाट सोमबार ५ जना किशोरहरू भागेका छन् । विभिन्न मुद्दाका ती किशोरहरू सुधारगृहको झ्याल तोडेर गत राति तीन बजे भागेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले दिएको जानकारी अनुसार रुपन्देहीका एक, पश्चिम नवलपरासीका तीन र स्याङ्जाका एक गरी पाँच जना किशोरहरू भागेका हुन् । उनीहरूमध्ये तीन जना जबरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दा अभियोग प्रमाणित भएर सुधार गृहमा राखिएको थियो ।
१८ वर्ष नपुगेकालाई बाल सुधारगृहमा राख्ने गरिन्छ । बाल सुधार गृहमा क्षमताभन्दा धेरै राखिएको भन्दै यसअघि बाल सुधारगृहका बन्दीले विरोध जनाएका थिए । भागेका किशोरहरूको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरी प्रमुख रेग्मीले बताए ।
प्रतिक्रिया