• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

    गोलबजारका एक युवकलाई अपहरणपछि हत्या, फरार अभियुक्तकाे खाेजी तीव्र

    गाेलबजार । गाेलबजार सिरहाका युवालाई अपहरणपछि किशोरको हत्या गरेको आरोपमा शंकास्पद तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । फरार रहेका अर्का एकजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सिरहाको गोलबजार नगरपालिका–३ का १७ वर्षीय अंशु सदा विराटनगर महानगरपालिका–११ बसपार्कस्थित न्यू अप्सरा गेष्ट हाउसमा रहेको कोठामा शुक्रबार मृत भेटिएका थिए । तन्नामा पोको पारेर गेष्ट हाउसको १ नम्बर कोठाभित्र रहेको पलङभित्र हालिएको अवस्थामा उनको शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले बताए ।

    नाकबाट रगत बगिरहेको अवस्थामा भेटिएको सदाको टाउको लगायत शरीरका विभिन्न भागमा चोट छ । इँटाले हानेर बिहीबार राति गेष्ट हाउसको कोठाभित्रै हत्या गरिएको प्रारम्भिक अनुमान रहेको डीएसपी कार्कीले बताए । घटनासथलमा रगत लतपतिएको कपडा भेटिएको छ ।

    सदा असोज २३ गते साथीहरुसँँग जाने भनेर घरबाट हिँडेका थिए । नफर्किएपछि आमा ललिताले इलाका प्रहरी कार्यालय गोलबजारमा खोजी गरिदिन निवेदन दिएकी थिइन् । सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाका अनुसार जाहेरी पर्दासम्म अपहरण भएको हो कि होइन भन्ने खुलेको थिएन ।

    परिवारबाट खोजतलासको माग भएपछि मोबाइल ‘ट्रयाक’ गर्ने क्रममा विराटनगरमा रहेको पाइएको थियो । त्यसपछि सिरहा प्रहरीले मोरङ प्रहरीसँग समन्वय सुरु गरेको थियो । त्यही क्रममा खोजी गर्दा उनको हत्या भएको फेला पारिएको थियो । सदालाई तीनजना साथीहरुले २४ गते बिहान विराटनगर लिएर आएको खुलेको छ ।

    गेष्ट हाउसका कर्मचारीका अनुसार असोज २६ गते बुधबार राति ८ बजेतिर कोठा खोज्दै सदासहित चारजना आएका थिए ।

    बुधबार र बिहीबारका लागि कोठा बुक गरेका थिए । अझै केही दिन बस्नुपर्ने भन्दै शुक्रबार बिहान अर्को कोठा पनि बुक गर्न खोजेका थिए । त्यसपछि पैसा लिएर आउँछौं भन्दै निस्केका सदाका साथीहरु फर्किएनन् ।

    प्रहरीका अनुसार विराटनगर आएर चारैजना २४ र २५ गते नजिकैको हत्या गरिएको धनकुटे लजमा बसेका थिए । २६ गतेबाट न्यू अप्सरा गेष्ट हाउसको १ नम्बर कोठा लिएर बसेका थिए ।

    होटलमा राखेर फिरौतीबापत परिवारसँग १ लाख रूपैयाँ माग गरिएपछि भने सदाको अपहरण भएको खुलेको प्रहरीले जनाएको छ । फिरौती रकम माग गर्दै परिवारलाई फोन गरिएपछि परिवार अपहरणमा परेको थाहा पाएर चिन्तित बनेको थिाये ।

    सुरुमा १ लाख रूपैयाँ माग गरिएको प्रहरीको भनाइ छ । कमजोर आर्थिक अवस्था भएकाले परिवारले रकम उपलब्ध गराउन सक्ने अवस्था थिएन । पछि १० हजार रुपैयाँ दिने भन्ने सहमति भएपछि परिवारले रकम पठाएको थियो । फिरौतीबापतको पैसा पठाउनुअघि नै सदाको हत्या भइसकेको खुलेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हत्यामा संलग्न र हत्या गरिएका सबै लागूऔषधका प्रयोगकर्ता रहेको पनि खुलेको छ । सेवन गर्ने लागूऔषध खरिदका लागि फिरौती माग्न साथीको अपहरण गरेको र समयमा पैसा नपठाएपछि हत्या गरेको प्रहरीको अनुमान छ ।

    फिरौतीवापत १० हजार रूपैयाँ सदाका परिवारले माछापुच्छ्रे बैंकमा पठाइदिएको थियो । विराटनगर–९ स्थित बैंकको शाखा कार्यालयमा रकम निकाल्न पुगेका बेला धनुषाको कमला नगरपालिका–६ का बिसु भनिने १९ वर्षीय प्रशान्तकुमार मण्डल र उनको साथमा रहेका मोरङको रतुवामाई नगरपालिका–५ का ३६ वर्षीय मनोज कार्की पक्राउ परेका हुन् ।

    सदाको हत्या गरिएको गेष्ट हाउसबाट धनुषाको कमला–६ का १९ वर्षीय राकेश ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले तीनै जनालाई पक्राउ गरेको हो । उनीहरु पक्राउ परेपछि सदाको हत्या भएको खुलेको हो । घटनामा संलग्न भएका १ जना फरार रहेको प्रहरीले जनाएको छ ।

    सदालाई लिएर मण्डल र ठाकुरसँगै विराटनगर आएका तथा हत्यामा संलग्न भएका १ व्यक्ति फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे मोरङ र सिरहाबाट भिन्दाभिन्दै अनुसन्धान हुने भएको छ । मोरङ प्रहरीले कर्तव्य ज्यान मुद्दा र सिरहा प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गर्ने जनाइएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ आश्विन २९, शनिबार ०६:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP