• २०८१ फाल्गुन ५ | Mon, 17 Feb 2025
  • डेंगुले बजारमा सिटामोलको अभाव तर छैन हाकाकार

    डेंगुले बजारमा सिटामोलको अभाव तर छैन हाकाकार

    नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् ।

    डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक जना सदस्यमा डेंगु देखिएपछि लक्षण नदेखिएका अन्य सदस्यहरुले परीक्षण गर्दा डेंगु पोजेटिभ देखिएमा पनि चिकित्सकको सल्लाहमा सिटामोल प्रयोग गर्ने बढेकाले बजारमा सिटामोलमा अभाव देखिएको हो ।

    उता औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले बजारमा डेंगुको कारण सिटामोलको माग एक्कासी बढेकाले केही ठाउँमा उपलब्ध नभएको स्वीकारे । महानिर्देशक भट्टराईले एक्कासी बढेको मागलाई सम्बोधन गर्न पहल सुरु गरिसकिएको जनाए । दुई तीन दिनभित्र केही ठाउँमा देखिएको सिटामोल अभाव समाधान हुने उनको जिकिर छ ।

    विभागले सिटामोल उत्पादन मध्यनजर गरी औषधि उत्पादक उद्योगीलाई लिखित र मौखिक रुपमा निर्देशन दिइसकेको उनले बताए । महानिर्देशक भट्टराईका अनुसार बजारको मागअनुसार सिटामोल उत्पादन र वितरणका लागि निर्देशन दिएको र सोहीअनुसार उत्पादन थालिसकिएको छ ।

    कोरोना महामारीका कारण संक्रमण दर ह्वात्तै बढ्दा   बजारमा पटकपटक सिटामोलको अभाव भएको थियो । पछिल्ला दुई वर्षयता सरुवाजन्य रोगहरुका कारण ज्वरो आउने  बिरामीको दर बढ्दा बजारमा सिटामोलको अभाव सिर्जना हुँदै आएको छ ।

    कोरोना महामारी तीव्र गतिमा फैलिँदा पनि सिटामोल उत्पादन उद्योगहरूले बजारमा  मागअनुसारको उत्पादन गर्ने तथा अभाव हुन नदिने बताउँदै आएका थिए । नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले डेंगु संक्रमण बढेकाले सिटामोलको मागअनुसार बजारमा कहिँ कतैअभाव देखिनु स्वाभाविक भएपनि हाहाकारको अवस्था नभएको बताए ।

    निजी व्यवसायीले सामाजिक उत्तरदायित्व पुरा गर्नुपर्ने भएकाले पनि बजारमा सिटामोलको अभाव हुन नदिने उनको भनाइ छ । नेपाल औषधि उत्पादक संघका अध्यक्ष मृगेन्द्रमहर श्रेष्ठले बजारमा सिटामोलको कहीँ कतै अभावदेखिए पनि उत्पादनलाई बढाएर अभाव हुन नदिने बताए ।

    बजारमा सिटामोलको अभाव हुन नदिने व्यवसायीहरुले पनि बताएका  छन् । तर जबसम्म सरकारले वास्तविक समस्यालाई ध्यान दिँदैन, तवसम्म देशमा सिटामोलको माग बढ्दा अभाव खड्किरहने व्यवसायीहरु बताउँछन् ।

    उता महानिर्देशक भट्टराईले औषधि उद्योगीहरुको उचित मागका विषयमा गम्भीर रहेकाले छलफल गरी अगाडि बढाउने बताउँछन् ।
    नेपालमा निजी औषधि उत्पादन गर्ने उद्योगहरूले विभिन्न समयमा भिन्न खालका सरुवारोग फैलिँदा मात्रै नभएर बजारमा बेला बेलामा सिटामोलको कृत्रिम अभाव गराउने गरेको आरोप खेप्दै आएका छन् ।

    विगत १४ वर्षदेखि सिटामोलको मूल्य समायोजन नहुँदा बेलाबेलामा अभाव सिर्जना हुनु स्वभाविक भएको संघका एक उच्च अधिकारीले बताए । सिटामोल उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको मूल्य, जनशक्ति, उपकरणमा मूल्य वृद्धि भएपनि सरकारले त्यस विषयमा ध्यान नदिँदा बजारमा आवश्यकताको आधारमा सिटामोल उपलब्ध गर्न नसकिएको उनले  बताए ।

    वर्षौदेखि घाटा खाएर सिटामोल उत्पादन गर्दै आएको भन्दै मागअनुसार निजी उद्योगहरुलाई उत्पादन गर्न समस्या भएको उनले बताए । नेपालमा वार्षिक करिब ८ करोड सिटामोल ट्याब्लेटको आवश्कता पर्छ । यद्यपि नेपाल औषधि लिमिटेडबाट मासिक करिब ६० लाख ट्याब्लेट सिटामोल उत्पादन हुन्छ ।

    नेपाल औषधि लिमिटेडले उत्पादन गरेको सिटामोलले जम्मा २५ देखि ३० प्रतिशत माग धान्ने गर्छ । औषधि उद्योगीहरुले बेलाबेला सिटामोल अभाव हुनुको मुख्य कारण नै प्रतिट्याब्लेट १ रुपैयाँ भएको बताउँछन् । तर, उद्योगीहरुले प्रतिट्याब्लेट एक रुपैयाँ ४० पैसा पर्ने बताउँदै आएका छन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र २९, बुधबार ०४:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP