गौशाला, भाद्र १९ गते । नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजीलाई जेलमा कोच्न नयाँ कानुनको आवश्यक रहेको बताएका छन् । उनले सुदखोरबाट पीडित गरिब, किसान र मजदुरहरुलाई न्याय दिलाउन सरकारले कानुन संशोधन गर्नु पर्ने बताएका छन् ।
काठमाडौंको माइतिघर मण्डलामा ३२ दिनदेखि लागातर जारी रहेको मिटरब्याजीविरुद्धको आन्दोलनमा एक्येबद्धता जनाउँदै नेता महतोले सुदखोरहरुको पक्षमा रहेको कानुन संशोधन नभएसम्म पीडितहरुले न्याय नपाउने बताए ।
‘नेपालको कानुन महाजनकै पक्षमा अहिले पनि छ । यसले गर्दा हजारौं–हजार मजदुर, किसानहरु समस्यामा परेका छन् । सरकारकै कानुनबाट पनि पीडित छन् । कानुन संशोधन नगरिकन पीडितले न्याय पाउन सक्दैन’, उनले भने ।
विगत् तीन वर्षदेखि मिटरब्याजी, जालीतमसुक र ठगीविरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै ३२ दिनदेखि काठमाडौंमा जारी छ । साहुको भेषमा सुदखोरहरुले गरिब, निमुखा र मजदुरमाथि अन्याय, अत्याचार गरिहेको नेता महतो बताए । ‘सरकारले झरो टार्नका लागि कार्यदल बनाएको छ । जुन कार्यदललाई कुनै अधिकारै छैन’, उनले भने ।
गृह मन्त्रालयले जिल्ला प्रशान कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने बताए । ‘यस समस्याबाट हजारौ, हजार घरपरिवार यसबाट पीडत छन् । सरलक्क एउटा शब्दमा मिटरब्याजी भनेर पुग्दैन । यसमा फरक खालमा प्रवृत्तिहरु छन्’, उनले भने ।
मान्छेको दुःखमा मिटरब्याजीले पीठा थप्दै आएका छन् । एमाले नेता महतोका अनुसार, मिटरब्याजीहरुले गरिबहरुलाई झुक्याएर एक लाख लिएको छ भने दश लाखसम्मको नक्कली कपाली कागज बनाउँछन् । तमसुक बनाएकै आधारमा पीडतहरुसंग ब्ल्याक मेलिङ गर्छन् । र अदालतमा मुद्दा हालेर असुल उपर गर्ने वा उसको जयजेथाबाट असुल उपर गर्दै आएका छन् ।
सुदखोरले भने जति पैसा नतिरे जेल पठाउने कार्य गर्दै आइरहेका छन् । यसकै आवरणमा उनीहरुले भित्रपट्टीबाट थुप्रै खालका अन्याय गर्दै आइरहेका छन् । साहुहरुले ऋण दिएर ऋणीसंग भएको सबै सम्पत्ति (जग्गाजमिन) पास गराएर दिएको ऋण भन्दा बीस गुणाको कागज बनाउने अर्को डर लाग्दो प्रवृत्ति रहेको नेता महतोले बताए ।
उनले भने, ‘मान्छेलाई रकमको आवश्यक परेको हुन्छ, विमारी पर्दा, किरिया गर्नु परे, विहेबारी या छोराछोरीलाई पढाउनु पर्दा वा विदेश पठाउनु पर्दा । साहुहरुले पैसा दिन्छन् तर, दिएको भन्दा २० गुणा भन्दा बढीका सम्पत्ति रजेष्टेशन गराउँछन् । ऋणीले रकम फर्काउँदा पनि साहुले पास गराएको जग्गाजमिन फर्काउँदैन ।’
प्रतिक्रिया