काठमाडौं महानगरपालिकाले अवैध रुपमा प्रयोग भैरहेका घर–टहरा भत्काउने अभियानलाई निरन्तरता दिएको छ । महानगरले शनिबार पनि सो अभियानलाई जारी राखेको हो । आज काठमाडौंको वनस्थली चोकबाट ढुङ्गेधारा जाने तर्फको सडक किनारामा अनधिकृत र अवैध रुपमा निर्माण गरिएका घर टहरा महानगरले भत्काएको छ ।
उक्त सडक किनारामा अवैध ढंगले निर्माण गरिएका ७ वटाभन्दा बढी टहरा भत्काइएको महानगरीय प्रहरी प्रमुख राजु पाण्डेले रातोपाटीलाई जानकारी दिए । पाण्डेले वनस्थली चोकबाट बालाजुतर्फ जाने सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ पनि भत्काइएको जानकारी दिए । उनले आजको अभियान स्थगित गरिएको आइतबारबाट पुनः अभियान सुरु गरिने जानकारी दिए ।
पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाले महानगरभित्र अवैध र अनाधिकृत रुपमा निर्माण गरिएका संरचना भत्काउन सुरु गरेको छ । उक्त अभियानको नेतृत्व महानगर प्रमुख बालेन शाह आफैंले गरिरहेका छन् ।
प्रतिक्रिया