• २०८१ माघ ११ | Fri, 24 Jan 2025
  • प्याड लिन किशोरीको हातमा स्मार्ट कार्ड

    प्याड लिन किशोरीको हातमा स्मार्ट कार्ड

    कालिकोट, ११ भदौ । जिल्लाको सान्नीत्रिवेणी गाँउपालिका वडा नं. ६ स्थित पंचदेवल माध्यामिक विद्यालयमा अध्यायनरत छात्रा सरिता सञ्ज्याललाई विद्यालयमा पाइने निशुल्क सेनेटरी प्याड माग्न लाज लाग्थ्यो । विद्यालयमा महिला शिक्षक भए पनि उनले शिक्षकसँग प्याड चाहियो भन्न सहजै सक्दिनथिन् ।  विद्यालयमा पाइने सेनेटरी प्याड लिन सधै सकस हुन्थ्यो ।

    अहिले उनको विद्यालयमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन छ । उनको हातमा सेनेटरी प्याड लिनका लागि स्मार्ट कार्ड छ । यो कार्डले उनलाई प्याड लिन निकै सहज भएको छ । उनी भन्छिन्, ‘गाँउपालिकाले विद्यालयमा प्याड निकाल्ने सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखिदियो । हामीलाई कार्ड दिएको छ । चाहिएको बेलामा निकाल्न सहजै सकिन्छ ।’

    उनी मात्र नभइ विद्यालयमा अध्यायनरत छात्रा बिपना लुवारलाई पनि उस्तै समस्या थियो । विद्यालयमा प्याड माग्न लजाउने, गाँउमा मेडिकलहरु पनि छैनन् । बजार पनि नजिक छैन । घरमा पुराना कपडाहरु धोएर प्याडको रुपमा प्रयोग गरी महिनावारी हुँदा बिद्यालय जानुपर्ने उनले बताइन्। अहिले उनलाई पनि प्याडको समस्या छैन। विद्यालयले किशोरीहरुको पायक पर्ने ठाँउमा गाँउपालिकाबाट प्राप्त सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखेको छ । मेशिनबाट प्याड निकाल्ने स्मार्ट कार्ड दिएको छ । जो कोही छात्रालाई प्याड आवश्यक पर्दा उनीहरु बैकमा एटिएम हालेजस्तै त्यो स्मार्ट कार्ड हाल्छन् । प्याड निकाल्छन् । उनले भनिन्, ‘जिल्लामै पहिलो पटक हाम्रो पालिकाले विद्यालयमा सेनेटरी प्याड निकाल्ने मेशिन राख्यो । हामीलाई ठुलो राहत भयो ।’

    सान्नीत्रिवेणी गाँउपालिकाले किशोरीसँग उपाध्यक्ष कार्यक्रम मार्फत पंचदेवल माविमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राखेको छ । गाँउपालिका उपाध्यक्ष पार्वति सिंहले भनिन्, ‘छोरी पढाऔँ, छोरीलाई अगाडी बढाऔँ भन्ने नाराका साथै पालिकाका सबै माध्यामिक विद्यालयहरुमा सेनेटरी प्याड भेन्टिङ्ग मेशिन राख्दैछौँ । पंचदेवल माविमा राखेको मेशिनले किशोरीहरुलाई प्याड लिन निकै सहज बनायो । त्यसैले सबै विद्यालययो मेशिन राख्न खरिद गरेर पालिकामा पुगिसकेको छ । अब बाँकी ६ वटा माध्यामिक विद्यालयहरुमा पनि जडान गर्छौँ ।’

    उनले आफूहरुले ‘नसोचौं है छोरी गलागाड हुन्, धर्तिमाता सृष्टिकै प्राण हुन्’ भन्ने अभियान थालेको बताइन्। अब कुनै पनि छात्राहरु महिनावारी हुँदा विद्यालय आउनबाट नरोकिने उनले उल्लेख गरिन्।

    सान्नीत्रिवेणी गाँउपालिका अध्यक्ष मोहनबहादुर केसीले गाँउपालिकाबाट शिक्षा, स्वास्थय, कृषि, पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘गाँउमा सिंहदरबार आएको अनुभुति दिलाउनका लागि हामीले नागरिकका आधारभुत आवश्यकता केन्द्रित कार्यक्रम बनाएका छौँ । हरेक विद्यालयहरुलाई हामीले छात्र, छात्रामैत्री विद्यालय बनाउने अभियानमा छौँ । सबै बालबालिकालाई विद्यालय जाऔंजाऔं भन्ने वातावरण बनाएपछि बालबालिकाहरुको सिकाइस्तरमा पनि वृद्धि हुने अपेक्षा गरेका छौँ ।’

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    गुन्द्रुक अनलाईन    
  • २०७९ भाद्र ११, शनिबार ०८:४६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP