रामेछाप,०५ भदौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले तत्काल वाम गठबन्धन सम्भव नभएको बताएका छन्। प्रेस चौतारी नेपाल रामेछापले आइतबार बिहान मन्थलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले प्रचण्ड र माधव नेपालले देउवालाई छाडेर नआएसम्म आगामी निर्वाचनमा वाम गठबन्धन नबन्ने बताएका हुन्।
‘प्रचण्ड र माधव नेपाल गठबन्धन गरेर शेरबहादुर देउवाको हली बनेका छन्।’ भट्टराईले भने, ‘देउवाको हली बसेकाले त्यहाँबाट बाहिर ननिस्किएसम्म अहिलेकै अवस्थामा एमालेसँग वाम गठबन्धन हुन सक्दैन। देउवालाई छाडेर आएमात्र वाम गठबन्धनबारे सोच्न र विचार गर्न सकिन्छ।’
भट्टराईले नागरिकता विधेयकमा गठबन्धन सरकारले फोहोरी राजनीति गरेको टिप्पणी गरे। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पुनर्विचार गर्न सन्देशसहित पठाएकाले संशोधन नहुनु राष्ट्रहित विपरित भएको स्पष्ट पारे। नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको विषय महत्वपूर्ण भएपनि सरकारले नागरिक विधेयक बलजफ्ति पारित गरेको उनको भनाई छ।
भट्टराईले भने, ‘एक पटक संसदमा राष्ट्रपतिले सन्देशसहित संसदमा पुनर्विचार गर्न फिर्ता पठाइसक्नुभयो। पुनर्विचार गर्न फिर्ता गरेपछि संशोधन गरेपनि, नगरेपनि राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पुन: राष्ट्रपतिसमक्ष विधेयक पठाएपछि प्रमाणीकरण नगर्ने प्रावधान संविधानमा छैन। राष्ट्रपतिले अब कसरी कदम चाल्नुहुन्छ भन्ने विषय हामीलाई जानकारी छैन।’
बिहीबारको प्रतिनिधि सभा बैठकले राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएपनि विधेयक जस्ताको तस्तै पारित भएको छ। प्रतिपक्षी नेकपा एमालेले ध्वनीमतबाट नभइ मत विभाजनबाट टुंग्याउन माग गरेपछि विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो।
भट्टराई मन्थली नगरकमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमका लागि मन्थली पुगेका हुन्।
प्रतिक्रिया